(मन्दिरा मधुश्री नवोदित कथाकार हुन् । मन्दिराले वीपी कोइरालाले जस्तै यौन मनोविज्ञानमा आधारित कथा लेख्छिन् । उनका कथामा यौन मानोविज्ञानसँगै सामाजिक परिवेश र विषयवस्तु पनि समेटिएको पाइन्छ । मन्दिराको पहिलो कथा संग्रह ‘बुधनको घोडी’ हो । यसबाहेक उनका फुटकर कथाहरु विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ । यहाँ प्रस्तुत ‘पर्खाल’ कथामा मन्दिराले आफूलाई पुरुष पात्रका रुपमा उभ्याएर लोग्ने–स्वास्नीवीचको यौनकुण्ठालाई चित्रित गरेकी छिन् । उनको यो कथा मधुपर्कमा प्रकाशित छ– सं)
अनायाश मेरा आँखा पार्कको कुनापट्टि ठोक्किए–एउटा दृश्यमा । गोलो पारेर काटेको धुपीको बोटको आडमा एक जोडी आइसक्रिम चाट्दै थिए ।
एउटै कोनमा पालैपालो । आइसक्रिम सकिँदै गएपछि खोसाखोसजस्तै पर्यो, दुबैवीच । उसले अलिकति टोक्यो कोन । उसले झम्टी र झन् बढी कर्याप्प पारी । उसले थुत्यो उसको हातबाट र मुखमा अट्ने जति मक्र्यायो । उसले पनि बाँकी रहेको टुप्पो फुत्काई र कप्ल्याककुप्लक पारी । दुबै हाँसे मरीमरी । दुबैले आफैँलाई विजयी ठानेका होलान् ।
त्यसपछि उसले दुबै हातको माला बनाएर अँगालो हाली उसलाई । दुबैले केहीबेर आँखा जुधाएर भाका पढे । बिस्तारै दुबैको सामीप्य बढ्दै गयो । दुरी घट्दै गयो । चुम्बक झैं क्रमशः तानिँदै गएर एकै ठाउँमा खप्टिए दुईजोडी ओठहरु ।
कतिधेरै खुलेर रमाइलो गरे उनीहरुले !
केटो भित्तामा अडेस लागेर ढल्कियो । उसका काखमा ढल्किई केटी पनि । केटाले उसको केश सुम्सुम्याउन थाल्यो एक हातले र अर्काे हातले अँगालो हाल्यो । लोलाएका आँखा बनाएर टाँसिइरही ऊ पनि । मानौं, उसको वषौंदेखिको कुण्ठाले आज तृप्ति पाइरहेको छ ।
गोधूली साँझ । दृश्य रोमाञ्चकारी । तर, मैले त्यो दृश्यबाट आनन्दानुभूति गर्न सकिनँ । काउकुति लगाउन सकेन त्यो रोमाञ्चकारी दृश्यले । मलाई टाउकोमाथि सैयौं किलोको भारी बोकेजस्तो भयो । चीट–चीट पसिना आयो । हात खुटटा फतक्क भए । एउटा कहालीलाग्दो दुर्घटनामा पर्दाको क्षणजस्तै भयो मलाई । मुटुको स्पन्दन तीव्र भयो । अझ भनाैं शरीरका सम्पूर्ण अवयवहरु स्तव्ध भएझैं भए । म क्रमशः शिथिल हुँदै गएँ । विस्तारै मेरो अँगालो खुकुलिएपछि उसले पनि चाल पाई कि के हो, विस्तारै मतिर हेरेर भनी –“के भयो ? ”
“केही भा’ छैनको भावमा मैले टाउको हल्लाएँ । हातहरु एकापसमा रगडिन थाले । मभित्र आक्रामक उत्तेजना जागृत भयो । के गरौं र कसो गरौंको अवस्थामा मुछिएँ म । प्रेमरसमा डुबल्की मारिरहँदा म एक्कासी रौद्ररुपको भाव–मुद्रामा देख्दा ऊ पनि डराएजस्ती भई । छक्क परी । अनायाश ममा आएको परिवर्तन देखेर ।
तर, ममा परिवर्तन ल्याउने विषयवस्तु वा कारणबारे भने ऊ अनभिज्ञ नै थिई । ऊ पनि त मेरो न्यानो अँगालोमा तृप्तता खोज्दै थिई, आफू लगायत सारा दुनियाँलाई नै वेवास्ता गरेर । विचरा ऊ पनि त्यही नारी त थिई, जो मायाको मीठो भ्रममा होमिन्छन् बत्तिमा पुतली होमिएजस्तै गरेर । अनि घाइते भएर बाँच्न विवश हन्छन् जीवनभर ।
उताको दृश्यमा उही मुद्रा र अवस्था थियो । फेरि मैले आँखा पुर्याउँदा ।
मभित्रको जलन झन बढ्यो । म पनि भित्र–भित्र एकदमै डराएको थिएँ । मैले जुरुक्क उठेर उसको हात समाउँदै भनेँ “नीरु हिँड जाउँ कोठामा नै ।”
“ऐले भर्खर त आएको हैन कोठाबाट …?”
“यहाँ त झन नरमाइलो लाग्यो मलाई त । बरु हिँड कोठैमा जाउँ । ”
म उसको प्रतिकृया नै नसुनी अघि लागेँ । ऊ आफूलाई समेट्दै मेरो पछि लुरुलुरु आई ।
सरासर काउन्टरमा गएर मैले चेकआउटका लागि अनुरोध गरेँ। तर, तीन दिनका लागि बुक गरिएको कोठाको एकैचोटि अग्रिम भुक्तानी गरिसकेको थिएँ होटलको नियमअनुसार । तर, आज दुईदिनमात्र भएकाले पैसा फिर्ता दिन नमिल्ने बताएपछि ममा झन बढी छटपटि थपियो ।
म आफ्नो कोठामा गएर बिच्छ्यौनामा डंग्रङ्ग पल्टिएँँ । एकातिर डर । अर्काेतिर आवेग र रीसको द्वन्दमा म छटपटिरहेको थिएँ । बाहिरको दृश्यमा देखिएकी केटी अरु कोही नभएर मेरै पत्नी थिई ।
हुनत मैले इमान्दारिताका साथ भन्ने हो भने मलाई कुनै प्रकारको प्रतिकृयात्मक भाव सिर्जना हुन नपर्ने हो । किनभने ऊ जसरी अर्काको अंगालोमा बाँधिएर तृप्तता खोज्दै थिई, म पनि त अर्कैलाई अँगालोमा च्यापेर तृप्तता खोज्दै थिएँ नि । यदि मैलेचाहिँ उसलाई नदखेर उसलेचाहिँ मलाई आलिँगनवद्ध अवस्थामा देखेकी भए ? उसको पनि त मनोदशा मेरोभन्दा कम हन्थ्यो होला र ?