काठमाडौं । एक साताअघि साहित्यकार प्रगति राईको उपन्यास ‘बिर्सिएको मृत्यु’ प्रकाशित भयो । राईका केही शुभचिन्तक पाठकहरुले आफ्नी प्रिय लेखकको समाचार प्रकाशित नभएपछि हामीलाई फोन गरेर चासो राखे । एउटा लेखकप्रति पाठकले दिएको त्यो महत्वपूर्ण सम्मान थियो । र, त्यही सम्मानलाई पछ्याउँदै हामी प्रगति राईलाई भेट्न उनको घरसम्म पुग्यौं ।
हामी पुग्दा प्रगति राई आफू अध्यक्ष रहेको मूलबाटो प्रतिष्ठानको राजधानीमा हुन लागेको कार्यक्रमको तयारीमा व्यस्त रहिछन् । आधा घण्टा कुरा गर्ने सर्तमा सुरु भएको अन्तरवार्ता ४ घण्टासम्म चल्यो । उनको ‘लेखक–मन’ बहकिँदै गयो र केही अनौठा सन्दर्भहरु बाहिर आए, जसलाई प्रगति राई आफैंले प्रकाशन गर्नुपर्ने ठहर गरेपछि हामीले त्यसका मुख्य अंश अन्तरवार्ताका रुपमा यहाँ प्रकाशित गरेका छौंः
तपाईंले मदन पुरस्कारप्राप्त आफ्ना श्रीमान् एवं चर्चित लेखक राजन मुकारुङका विषयमा जे बोल्नुभयो र त्यो जसरी प्रकाशित भयो, त्यसले ठूलै चर्चा पाएको थियो, यस विषयमा के भन्नुहुन्छ ?
मैले सत्य कुरा बोलेकी हुँ । चर्चाका लागि त्यो कुरा गरेको थिइनँ । राजन मुकारुङसँग मेरो विवाह भयो, तर प्रेम हुन सकेन । २५ वर्षदेखि हामी श्रीमान–श्रीमती देखिन्छौं, तर सम्बन्ध प्रेमपूर्ण छैन । उनी आफ्नो बाटो हिँडेका छन्, मैले हिँड्न दिएकी छु । म स्वतन्त्र हुन चाहन्छु भने अरुलाई बाँध्नुहुँदैन । तर, मेरो एउटा भनाइ के छ भने श्रीमानसँग सम्बन्ध बिग्रियो भन्दैमा श्रीमानका परिवारसँग पनि सम्बन्ध तोड्ने जुन चलन छ, त्यसको म विरोधी हुँ ।
तर पनि तपाईं राजनजीसँगै हुनुहुन्छ नि हैन ?
हामी सँगै छौं पनि, छैनौं पनि । उनी आफ्नी प्रेमीकासँग बस्छन्, तर बिहे गरेका छैनन् । मैले उनको घर सम्हालेकी छु । प्रेम गरेका हौ भने बिहे गर, प्रेमको इज्जत गर भनेर सम्झाउँछु । बरु छिमेकी भएर बसे पनि हुन्छ भन्छु । मानेका छैनन् ।
मैले उनलाई स्वतन्त्र हुन दिएको मात्र हो । म त उनका दुई छोराकी आमा हुँ । परिवारभित्र मेरा आफ्ना दायित्व छन् । मैले त्यो निभाएकी छु । खासमा यो २५ वर्षमा हामी ५ वर्षजति मात्रै सँगै बस्यौं ।
यत्रो वर्षपछि यो कुरा बाहिर किन आयो ?
राजन मुकारुङसँग मेरो विवाह भयो, तर प्रेम हुन सकेन । २५ वर्षदेखि हामी श्रीमान्–श्रीमती देखिन्छौं, तर सम्बन्ध प्रेमपूर्ण छैन । हामी सँगै छौं पनि, छैनौं पनि । उनी आफ्नी प्रेमीकासँग बस्छन्, मैले उनको घर सम्हालेकी छु
राजनले नै फेसबुकमा आफ्नी १५ औं प्रेमीका सार्वजनिक गरेपछि त्यसको काउन्टरमा मैले आफ्ना कुरा लेखेकी हुँ । मैले उनलाई स्वतन्त्र हुन दिएँ, त्यहाँसम्म ठीक थियो । १४ जना प्रेमिका बनाउञ्जेलसम्म मैले सार्वजनिकरुपमा केही बोलिनँ । किनभने उनलाई प्रेम गर्नु र चुरोट पिउनु उस्तै लाग्छ क्यारे !
श्रीमती हुनुको दायित्वले मैले घरमा, एक्लै हुँदा निकै सम्झाएँ । १४ औं सिगरेट पनि फ्याँकेर जब १५ औं सिगरेट च्यापे, मलाई खल्लो लाग्यो । अझ सानका साथ अझ बढाइ–चढाइ प्रस्तुत गरेपछि लाग्यो, अब बोल्नुपर्छ । चाहे ती प्रशिद्ध भैसकेका लेखक राजन मुकारुङ नै किन नहून् ।
तपाईंले सम्झाउँदा उहाँ के भन्नुहुन्थ्यो ?
धेरै महिलासँग सम्बन्ध राख्नु सायद पुरुषहरु सानको काम ठान्छन् क्यारे ! पुरुष अहंकार ! पिता–पूर्खाको विरासतले पनि काम गरेको होला । किनभने उनका जिजुवुवाका ९ श्रीमती थिए रे । हजुरबुवाले दुईटी विवाह गर्नुभएको थियो । तर, अरु पनि धेरै महिलासँग सम्बन्ध भएको कुरा घरमा सानका साथ कुरा हुन्थ्यो ।
उनका बुवाले पनि गर्भमै छँदा अर्की विवाह गरेर हिँड्नु भएको थियो रे । हाम्रो समाजमा त्योबेला यस्तो काम गर्नुलाई गौरव मानिन्थ्यो । अहिले बहुुविवाह गर्न पाइँदैन । तर, प्रेमका नाममा सँगै बस्न पाइन्छ ! सायद यही काम गरेका होलान् ।