काठमाडौं । चर्चित कार्टुनिस्ट दुर्गा बराल अर्थात वात्सायन ५३ वर्षअघि पोखराको आर्वाबाट कला सिक्न काठमाडौं आए । काठमाडौंमा विसं. ०२१ सालमा उनको भेट तत्कालीन पत्रकार एवं अहिलेका परराष्ट्रविद रमेशनाथ पाण्डेसँग भयो ।
काठमाडौंमा त्योबेला पाण्डेको सम्पादनमा ‘नयाँ सन्देश’ पत्रिका निस्कन्थ्यो । त्यही पत्रिकामा कार्टुन बनाउने अफर आएपछि दुर्गा बराल कार्टुनिस्ट वात्सायन बनेका हुन् ।
पाँच शताब्दीको लामो यात्रामा बरालले ‘प्राङ्गण’, ‘राष्ट्रपुकार’, ‘मातृभूमि’, ‘देशान्तर’, ‘सुरुचि’ र ‘गोरखापत्र’ हुँदै ‘कान्तिपुर’सम्म कार्टुनकारिता गरेका छन् ।
वात्सायनलाई कार्टुन बनाएकै कारण सरकारले धेरैपटक पक्राउ आदेश जारी गरेको भए पनि उनी विभिन्न कारणले पक्राउ भने परेनन् ।
अचेल पोखरामै फुर्सदिला दिन बिताइरहेका वात्सायनसँग अनलाइनखबरका लागि अश्विनी कोइरालाले गरेको संस्मरणात्मक कुराकानी:
घर त पुरानै रहेछ, नयाँ बनाउनुभएन ?
आवश्यक परेको छैन । छोराहरु बाहिरै छन् । कहिलेकाहिँ आउने हुन् । घर एकतल्ले भए पनि मलाई चलेकै छ ।
घरको दाहिनेतर्फको लामो घरचाहिँ नयाँजस्तो छ । केका लागि बनाउनुभएको ?
यो मेरो स्टुडियो हो । यहीँ बसेर मैले २० वर्ष यताका कार्टुन र अन्य कला बनाएको हुँ । यति पुरानो छाप्रोलाई के नयाँ भन्नु ? बस्ने घरभन्दा नयाँ चाहिँ हो ।
तपाईं कार्टुनिस्टका रुपमा चर्चित हुनुहुन्छ । जीवनमा पहिलेदेखि नै कार्टुनिस्ट बन्न चाहनुहुन्थ्यो ?
मलाई त कार्टुन भन्ने नै थाहा थिएन । कलामा रुचि भएकाले एसएलसी पास गरेपछि कला सिक्न पाइन्छ कि भनेर काठमाडौं गएको थिएँ । नयाँ सडकमा पिपलबोटको छेऊमा म जुन होटलमा भात खान्थेँ, त्यहाँ रमेशनाथ पाण्डेहरु पत्रिका निस्किएको दिन रमाइलो गर्न अबेरसम्म खानपीन गर्दा रहेछन् । तीमध्ये एकजनासँग मेरो सुरुदेखि नै परिचय थियो । उनैले रमेशनाथ पाण्डेसँग परिचय गराइदिए ।
त्योबेला रमेशननाथ ‘नयाँ सन्देश’ पत्रिका निकाल्थे । भारतबाट प्रकाशित हुने अंग्रेजी पत्रिकामा छापिएका कार्टुनलाई तलमाथि गरेर उनी नेपाली कार्टुन बनाउँदा रहेछन् । आफ्नो विवशता पोख्दै उनले त्यस्तै कार्टुन बनाइदिन मलाई आग्रह गरे । पैसा पनि दिन्छु भनेँ । बेरोजगार भएकाले पैसाको लोभमा मैले उनले दिएको आइडियामा कार्टुन बनाउन थालेको हुँ ।
तपाईंका कार्टुनका गुरु रमेशनाथ पाण्डे हुन् भन्दा हुन्छ ?
हो । सत्य कुरा यही हो ।
कार्टुन बनाएवापत कति पैसा पाउनुभयो ?
पैसा दिन्छु भनेका त थिए, तर नगद कहिल्यै पाइनँ । म माग्न नसक्ने, उनी नमागी नदिने स्वाभावका रहेछन् । पत्रिका निस्किएको दिन यसो खानपीन गरिन्थ्यो, त्यति हो ।
रमेशनाथ पाण्डेका विषयमा तपाईंलाई अनौठो लागेको कुनै स्मरण ?
मलाई उनी पाण्डे खलकका धेरै धनी व्यक्ति होलान् भन्ने लागेको थियो । तर, एकपटक हामी हनुमानढोका दरबारतिर गइरहेका बेला एकजना प्रहरीले उनलाई ‘वारेन्ट छ, चौकी हिँड्नु’ भनेर लिएर गए ।
प्रहरी कार्यालयमा जाँदाजाँदै उनले घर पुगेर ओड्ने-ओछ्याउने सामग्री ल्याइदिन आग्रह गरे । मैले घर देखेको थिइनँ । उनले नोना कोइराला (गिरिजाप्रसाद कोइरालाकी भाउजू) लाई थाहा भएको बताए । मैले नोना कोइराला बस्ने घर पनि देखेको थिइनँ । उनले महाबौद्धको गल्लीमा गएर सोधेपछि थाहा हुने बताए ।
यसरी म पहिले नोना बस्ने घर खोज्दै पुगेँ । त्यसपछि नोनाले बताएअनुसार विशालनगरमा एउटा राणाको घरमा पुगेँ ।
त्यहाँ पुग्दा त के देखेँ भने पाण्डेको परिवार त कुनै राणाले उपलब्ध गराएको तबेलामा पो बस्दा रहेछन् । तबेला पनि कति सामान्य भने, म त छक्कै परेँ । बरु पोखरामा मेरो सानोतिनो घर थियो, जग्गा थियो । विचरा यस्ता मानिसले धन्न पत्रिका निकालिरहेका रहेछन् जस्तो लाग्यो ।
घर पुगेर छोरो पक्राउ परेको समाचार सुनाउँदा रमेशनाथ पाण्डेकी आमाको प्रतिक्रिया कस्तो थियो ?
अँ । मैले त सबै आत्तिन्छन् होला भन्ने ठानेको थिएँ । उनकी आमाले ‘ए फेरि पक्राउ पो पर्यो’ भन्नुभयो । पत्रिका निकाल्दा उनी बारम्बार पक्राउ पर्दै छुट्दै गर्दा रहेछन् । यो सामान्य प्रक्रिया रहेछ ।
भाइ बाहिर कतै गएकाले एकछिनपछि सँगै सामान लिएर जानू भनेर ओढ्ने ओच्छ्याउने ठीक पारिदिनुभयो । रमेशनाथका भाइ मभन्दा केही कान्छा थिए । रमेशनाथ भने मभन्दा केही महिना जेठा हुन् क्यारे ।
रमेशनाथ पाण्डेको आत्मकथा पढ्नुभएको छ ? त्यसमा तपाईंका पनि केही प्रसङ्ग परेका छन् नि…
अँ पढेँ । उनले आफ्नो कुरा अलि बढाएर लेखेजस्तो लागेको छ । हुन त आफ्नो बारेमा कसले नराम्रो लेख्छ र ? तर, मलाई भने सधैं एउटा कुरा खड्किरहन्छ ।
कुन कुरा ?
जेलबाट छुटेपछि उनी खै कसरी हो, अमेरिकातिर गए । सायद बारम्बार पत्रिका बन्द हुने र सेन्सर प्रवृत्तिबाट दिक्क भएपछि अन्तर्राष्ट्रिय सहयोगका लागि कसैको सहयोगमा अमेरिका पुगेका हुन् । अमेरिकामा उनी त्यस्तै दुई-तीन महिना बसे होलान् । र्फकंदा उनले निकै पैसा ल्याए र त्योबेला वरपरका मानिसलाई छक्क पार्ने तरिकाले भव्य घर बनाए । फेरि अर्को पटक ६ महिनाका लागि अमेरिका जाँदा त उनको रहन-सहन नै परिवर्तन भयो । हुन त पत्रिका चलाउन उनले निकै दुःख गरेका थिए । त्यसैको फल पाएका हुन् कि ?
तपाईंले उनको पत्रिकामा अचानक कार्टुन बनाउन छाड्नुभयो, रमेशनाथ पाण्डेसँग केही खटपट भएको थियो ?
उनी जेल परेपछि पत्रिका बन्द भयो । त्यसपछि उनी अमेरिका गएपछि मेरो उठबस गर्ने कारण नै हरायो । त्यसपछि म पाठ्यक्रम विकास केन्द्रमा जागिरे भएपछि कार्टुन बनाउने काम छुट्यो ।
तपाईं त कला सिक्न काठमाडौं आएको मान्छे, कला कहाँ पढ्नुभयो ?
त्योबेला नेपाल ललितकला क्याम्पस खुलेकै थिएन । त्यो सानो तालिमकेन्द्रमै सीमित थियो । अलिकति पहुँच भएकाहरु छात्रवृत्तिमा विदेश पढ्न जान्थे । म पनि निवेदन दिइरहन्थेँ । त्योबेला पञ्चका नजिकका वा सोर्सफोर्स हुनेहरु पढ्न जान्थे क्यारे । पटक-पटकको निवेदनमा पनि मैले त्यो अवसर पाइनँ ।