सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटमा प्रहरीको गोली लागेर मृत्यु भएका म्यादी प्रहरीको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने प्रतिवद्धता जनाएका छन् । उनले घटनाको दोषीलाई कारवाही हुने पनि बताए ।
कालिकोटमा गत मंसिर १० गते प्रहरीको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिका तिकुवाका म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो । निर्वाचन सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीहरुले सेवा सुविधाको माग गर्दै आन्दोलन गर्दा गोली चलाइएको थियो ।
हालसम्म पनि सरकारबाट राहत नपाएको र पीडकलाई कारवाही नभएको भन्दै ऐडीका परिवारका सदस्यहरुले मुख्यमन्त्री शाहीलाई भेटेर ध्यानाकर्षण गराएका छन् । मतृकका बाबु हरि ऐडीले मुख्य मन्त्री शाहीलाई भेटेर प्रदेश सरकारले पनि सो घटनाको छानबिन गर्नुपर्ने माग गरे ।
घटनालगत्तै गृह मन्त्रालयले सहसचिव मानबहादुर विश्वकर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । तर मृतकका बुवा हरि ऐडीले छानबिन प्रतिवेदनको निष्कर्षबारे आफूहरुलाई हालसम्म पनि जानकारी नगराइएको गुनासो गरे ।
‘अहिलेसम्म पनि सरकारले राहत पनि दिएन, छानविन प्रतिवेदन पनि लुकाइयो, छोरोलाई शहीद घोषणा पनि गरिएन, न बीमाको प्रक्रिया थालनी भयो, हामीलाई सरकारले अन्याय गर्यो,’ उनले मुख्यमन्त्री शाहीसँग भने ।
मृतकका आफन्तको गुनासोपछि मुख्यमन्त्री शाहीले पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन कालिकोट प्रशासनलाई निर्देशन दिएका थिए । दोषीलाई कारवाही हुनुपर्ने र उचित क्षतिपूर्ति पाउनुपर्ने पीडित पक्षको माग जायज भएको शाहीले बताए ।
मुख्यमन्त्री शाही पनि कालिकोट निवासी हुन् ।