क्रान्तिकारीले जनयुद्धको पहिलो सहिदलाई जन्मस्थानमै पुगेर सम्झियो

गोरखा। माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको जन्मस्थलमै पुगेर २३ औं स्मृति दिवस मनाएको छ। क्रान्तिकारीले सोही अवसरमा सहिद रम्तेलका पिता सेते रम्तेल सहितका स्थानीय सहिद परिवारलाई सम्मान गरेको छ।

सहिद रम्तेलको सम्झनामा क्रान्तिकारीले बृहत् स्वास्थ शिविर समेत सन्चालन गरेको छ । डा।अच्युत भट्ट नेतृत्वमा आएको टोलीले रम्तेलका गाउँका स्थानीय जनताको निशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण समेत गरेको छ।

सहिद रम्तेलको स्मृति सभामा बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले सहिदको सपना पूरा गर्नकै लागि वाम एकता हुन लागेको धारणा राखे ।

कार्यक्रममा माओवादी नेता एवम् सांसद हरि अधिकारीले नयाँ नेपाल निर्माणका निम्ति गोर्खाली जनताले अतुलनीय वलिदान गरेको बताए।

सोही कार्यक्रममा सहिद रम्तेलका पिता सेते रम्तेलले आफ्ना छोराको वलिदानले मुलुकमा गणतन्त्र आएकाले छोरामाथि गर्व लागेको बताए।

आजभन्दा २३ वर्ष अगाडि गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए । माओवादीले उनै रम्तेललाई जनयुद्धकै प्रथम सहिद मान्दै आएको छ।

आज क्रान्तिकारीले देशैभर २३ औं दिलबहादुर रम्तेल स्मृति दिवस मनाएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार