काठमाडौं । इतिहासमै पहिलो पटक बचत खाता र मुद्दती निक्षेप खातामा पाइने ब्याजदर लगभग उस्तै हुन पुगेको छ ।
अहिले सबै वाणिज्य बैंकले व्यक्तिगत लगानीकर्तालाई मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर दिएका छन् । मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा धेरै ब्याजदर कायम गर्न नपाइने नेपाल बैंकर्स एशोसिएशनको निर्णयपछि वाणिज्य बैंकहरूले बचत खातामा ब्याजदर बढाइरहेका छन् ।
‘म त यसलाई हाम्रो सफलता मान्छु, हामीले यसअघि नै मुद्दती र सामान्य बचतमा धेरै नै विभेद भयो भन्दै आएका थियौं ।’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भन्छन् ।
राष्ट्र बैंकले बचत खाता र मुद्दती खाता बीचको ब्याज अन्तर उच्च रहेको र यसबाट धनीलेमात्रै लाभ पाउने गरेको भन्दै कडाइ गर्दै आएको थियो । एक वर्ष अघिसम्म वाणिज्य बैंकहरूको बचत खातामा औसतमा २/३ प्रतिशत ब्याजदर रहँदा मुद्दती निक्षेपको औसत ब्याजदर ९/१० प्रतिशतको दरमा थियो ।
राष्ट्र बैंकले यसबीच कल निक्षेप र संस्थागत निक्षेपको व्याजदरमा कडाइ गरेको थियो ।
राष्ट्र बैंकले चैत २०७३ मा नै ‘कल निक्षेप’ र सामान्य बचत खाताको ब्याजदर समान हुनुपर्ने व्यवस्था गरेको थियो । ब्याजदर घटेकै कारण नियम लागू भएको एक महिनामै करिब ४५ अर्ब रुपैयाँ बराबरको कल निक्षेप घटेको थियो । त्यस्तै,राष्ट्र बैंकले संस्थागत निक्षेप लिँदा प्रकाशित गरेको दरमा दुई प्रतिशतभन्दा धेरैले बढाउन नपाउने व्यवस्था गरेको थियो ।
बजारमा गत पुसयता चर्किएको पुँजी अभाव समस्या हालसम्म हल हुन नसकेपछि बैंकहरू निक्षेप आकर्षित गर्ने हरसम्भव प्रयासमा लागेका छन् । बैंकहरूले निक्षेपको वृद्धिदरको तुलनामा कर्जाको वृद्धिदर व्यवस्थापन गर्न नसक्दा पनि बजारमा लगानी योग्य पुँजी अभावमा बैंकहरू रहेका छन् ।
मुद्दतीपछि बचतमा खोसाखोस
मुद्दती निक्षेपमा बैंकहरू बीच कडा प्रतिस्पर्धा हुन थलेपछि गत वर्ष पनि बैंकिङ प्रणालीमा असन्तुलन देखिएको थियो । पुँजी अभावको समस्या त्यसयता निम्तिएको बैंकरहरूले नै स्वीकारेका छन् । यसपटक त्यस्तो अवस्था आउन नदिन बैंकहरूले मुद्दती निक्षेपको ब्याजदरमा सीमा तोकेका छन् ।
यही कारण बैंकहरू मुद्दतीपछि बचत खातामा रहेको रकम खोसाखोस गर्न थालेका छन् । हालै बैंकर्स एशोसिएशनले कुमारी बैंकलाई बचत खातामा समेत अप्रत्यक्ष सीमा लगाएको थियो । तर, त्यसका बावजुद पनि बैंकले अटेर गरेर सीमाभन्दा केही माथी नै ब्याजदर प्रस्ताव गरेको थियो ।
हालै बचत खाताको व्याजदर बढाएको सिभिल बैंकले भने बैंकर्स एशोसिएशनमा निक्षेप योजना अनुसार सीमाको प्रावधान नराखिएको बताएको छ ।
‘बचतमा अलग्गै सीमा तोकिएको छैन । यसअघि पनि बचतमा बढी ब्याजदर दिनेमा हामी रहेका थियौं, त्यही भएर ब्याजदर बढाएका हौं ।’ बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्द गुरुङले भने । बैंकले सो खातामा न्यूनतम ब्याजदर एक हजार रुपैयाँ भए पुग्ने व्यवस्था गरेको छ । यद्यपि, बैंकलाई पुँजीको ठुलो अभाव नरहेको दावी गुरुङको छ ।
यसले बजारमा रहेका अरु बैंकबाट केही रकम आफ्नोमा सर्न सक्ने भएपनि आफ्नो उद्दश्य त्यस्तो नरहेको उनले प्रष्टाएका छन् । ‘हामीले सामान्य बचतकर्तालाई पनि राम्रै ब्याजदर दिउँ भन्ने उद्देश्यले यो योजना ल्याएका हौं,’ गुरुङ स्पष्ट पार्छन् ।
हालै केही बैंकले पुँजी अभावकै कारण राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दातसमेत राख्न नसकेपछि कारवाही भोगेका छन् । वाणिज्य बैंकहरूले कुल निक्षेपको ६ प्रतिशत रकम यस्तो प्रावधान अनुसार राष्ट्र बैंकमा राख्नुपर्छ । बैंकहरूले निक्षेपको तुलनामा कर्जा लगानी अनुपातको सीमा पार गरेकै कारण राष्ट्र बैंकले यसअघि यसमा सहुलियत दिएर सीमामा ल्याउन निर्देशन दिएको थियो ।
गत पुससम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा २५ खर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा बचत खातामा ८ खर्ब ८३ अर्ब रुपैयाँ मात्र छ । अघिल्लो वर्षको सोही अवधिमा भने बचत खातामा ९ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो । बचत खतामा गत वर्षबाटै ब्याजदर बढ्ने क्रममा रहेकोले अघिल्लो वर्षको तुलनामा गत वर्ष भने यो पुँजीमा उच्चले वृद्धि भएको थियो ।
बचत खातामा रहेको रकममध्ये न्यूनतम रकमबाहेक बाँकी रकम ग्राहकले जतिखेर चाह्यो त्यतिखेर झिक्न सक्छ । बैंकहरूले पनि ब्याजदर चाहेको समयमा घटबढ गर्न सक्ने व्यवस्था छ । यही कारण पनि बचत खाताको पुँजीलाई अस्थिर पुँजीको रुपमा लिइन्छ । यो पुँजीलाई तुलनात्मक रुपमा सस्तो लागतको पँुजी मानिने गरिएको छ ।
हाल भने वाणिज्य बैंकहरूले २२ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन र १९ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । पुँजी अभाव समस्या भएपछि राष्ट्र बैंकले विदेशी मुद्रामा रहेको निक्षेपको आधारमा पनि कर्जा लगानी गर्न सक्ने सुविधा समेत दिएको छ ।