१४ फागुन । नेपाल-भारत प्रबुद्ध समूहका भारत तर्फका संयोजक भगतसिंह कोशियारीले आगामी दिनमा नेपाल-भारत सम्बन्ध झनै प्रगाढ बन्ने दाबी गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लबले गरेको विशेष साक्षात्कारमा कोशियारीले भने, ‘आगामी दिनमा नेपाल-भारत द्विपक्षीय सम्बन्ध विकास र समृद्धिमा बढी केन्दि्रत हुन्छ, भारत नेपालमा विकास भएको हेर्न आतुर छ, केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेको छ, यो सरकारले देश र जनताको हितमा काम गरोस् ।’
उनले आगामी दिनमा नेपाल-भारत द्धिपक्षीय सम्बन्ध थप मजबुत हुने र विकास साझेदारीमा हातेमालो गर्दै अघि बढ्ने बताए ।
‘नेपाल-भारत सम्बन्धको सवाल छ, म धेरै विश्वासका साथ भन्न सक्छु कि नेपालका जति पनि नेताहरु हुनुहुन्छ उहाँहरु सबैको भारतसँग राम्रो सम्बन्ध छ । जहाँसम्म पब्लिकको भारतसँगको सम्बन्धको कुरा छ, उहाँहरुको त झनै अटुट सम्बन्ध छ ।’
भाजपाका पूर्वउपाध्यक्ष समेत रहेका संयोजक कोशियारीले नेपाल बसाईको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा के-के विषयमा छलफल भएको थियो ? भन्ने प्रश्नमा उनले भने, ‘मैले देउवासँग भेट गरें । प्रधानमन्त्री ओलीजीसँग पनि भेट गरें । प्रचण्डजीसँग पनि भेट गरें । मलाई राम्रो लाग्यो कि सबै नेताहरुले हामी भारतसँग कहिल्यै सम्बन्ध बिगार्नेबारे सोच्न पनि सक्दैनौं भन्नुभयो ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच कहिल्यै पनि सम्बन्ध खराब नरहेको कोशियारीले जिकिर गरे । उनले भने,’तर कुनै प्रशंगबस घरमा पिता र पुत्रबीच लडाई हुनसक्छ, मतभिन्नता हुनसक्छ ।’